वायु प्रदूषण बढ्दो, स्वास्थ्य चुनौती थपियो

२०७८ मंसिर १२ गते, आईतवार

काठमाडौं । केही दिनयता देशका विभिन्न स्थानमा वायु प्रदूूषण बढ्दै गएपछि स्वास्थ्यमा चुनौती थपिएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वायुको गुणस्तर बिग्रँदै जाँदा विशेषगरी बालबालिका, वृद्धवृद्धाको स्वास्थ्यमा बढी असर पर्न थालेको छ ।

शनिबार देशका विभिन्न स्थानको वायुको गुणस्तर निकै बिग्रेको देखिएको छ । वातावरण विभागको वायु गुणस्तर मापनअनुसार सबैभन्दा बढी वायु प्रदूषणको स्तर सिमरामा बिग्रिएको छ । सिमरामा १९५ एक्यूआई रहेको छ भने विराटनगरमा १९४, पोखरामा १८९ एक्यूआई रहेको छ । काठमाडौँको कीर्तिपुरमा १६९, रत्नपार्कमा ११५, धनगढीमा १५९, जनकपुरमा १२२ एक्यूआई रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डले एक्यूआई ५० सम्म भएको वायु स्वास्थ्यका लागि स्वस्थ भएको मानिन्छ । एक्यूआई १०० भन्दा माथि उक्लेपछि त्यस्तो वायु अस्वस्थ मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनले त्यस्तो अवस्थामा वृद्धवृद्धा तथा बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आह्वान गरेको छ । यसरी वायु प्रदूूषण बढेसंँगै विभिन्न किसिमका श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्ने भन्दै चिकित्सकले सावधानी अपनाउन जोड दिएका छन् । वायु प्रदूषणको सिकार बालबालिका तथा वृद्धवृद्धालाई बढी देखिने भन्दै चिकित्सकले प्रदूषण अवधिभर घरबाहिर निस्कन नहुने सुझाव दिएका छन् ।

वरिष्ठ छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पङ्गेनीले वायु प्रदूषणले गर्दा बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने बताए । उनले प्रदूषणका कारण रुघाखोकी, घाँटीको एलर्जी, फोक्सोसम्बन्धी रोग, बालबालिकामा ब्रोङ्काइटिक्सलगायतका रोग लाग्न सक्ने बताए । डा. पङ्गेनीले बालबालिकालाई श्वासप्रश्वासमा समेत असर गर्ने भएकाले सचेत रहन आग्रह गरे । उनले भन्नुभयो, “यदि घरबाहिर निस्कनै परेमा विशेष सावधानी अपनाउनुपर्छ । अत्यधिक वायु प्रदूषण बढ्दा फोक्सोसम्बन्धी बिरामीलाई झन् असर पर्ने डा. पङ्गेनीको भनाइ छ ।

वायु प्रदूषणका कारण रुघाखोकी लाग्ने, घाँटीमा समस्या हुने, घाँटी खसखस हुने, चिलाउने, घाँटीको एलर्जी हुने गर्छ ।

यसैगरी, वीर अस्पतालमा कार्यरत वरिष्ठ छातीरोग विशेषज्ञ डा. अशेष ढुङ्गानाले प्रदूषणले दीर्घरोगीलाई मात्र नभई, स्वस्थ व्यक्तिलाई समेत असर गर्ने बताए । उनले दम, मुटु, छातीको समस्या भएका बिरामीलाई असर गर्ने भएकाले विशेषगरी दीर्घरोगीले सचेतना अपनाउनुपर्ने बताए । उनले अहिलेको वायु प्रदूषणबाट जोगिनलाई ‘मर्निङवाक’ नगर्ने, घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाएरमात्र निस्कने, वायु प्रदूषण भएका बेला कठिनखालका शारीरिक अभ्यास नगर्ने, वायु प्रदूषणबाट आँखा जोगाउनका लागि चस्मा प्रयोग गर्नुपर्ने बताए ।

बालरोग विशेषज्ञ डा. दिनेश कोइरालाले वायु प्रदूषणको असर बालबालिकालाई समेत पर्ने भएकाले उनीहरूलाई घरबाहिर निस्कन दिन नहुने बताए । डा. कोइरालाले बालबालिकालाई चिसो मौसम र वायु प्रदूषणको बेला बाहिर छाड्न नहुने बताए । उनले अत्यधिक चिसो तथा प्रदूषणले निमोनिया, श्वासप्रश्वास, हाइपोथर्मियालगायतका रोगले आक्रमण गर्ने बताए ।

डा. कोइरालाले जाडोमा बालबालिकालाई बाक्ला कपडा लगाइदिनुपर्ने बताए । वायु प्रदूषणले सामान्य मानिसलाई समेत विभिन्न रोगले सताउने भएकाले रोग प्रतिरक्षा क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका सचेत रहनुपर्ने बताए । समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन ।

44 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

मध्यपुरथिमिको मनोहरा क्षेत्रमा लोपोन्मुख लोभीपापी गरुड भेटियो

२०७८ पुष २७ गते, मंगलवार

मध्यपुरथिमिको मनोहरा क्षेत्रमा लोपोन्मुख लोभीपापी गरुड भेटियो

२०७८ पुष २७ गते, मंगलवार

काठमाण्डौमा टिपर र मोटरसाइकलले ठक्कर दिँदा दुई जना पैदलयात्रीको ज्यान गयो

२०७८ पुष २६ गते, सोमबार

ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन ९६८ संक्रमित थप

२०७८ पुष २३ गते, शुक्रबार

नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

२०७८ पुष २३ गते, शुक्रबार

भाइब्रेन्ट समिट स्थगित : प्रधानमन्त्री देउवाको भ्रमण रोकियो

२०७८ पुष २२ गते, बिहीबार

कलङ्कीमा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो

२०७८ पुष २२ गते, बिहीबार

दोलखा केन्द्रविन्दु भएर भुकम्प

२०७८ पुष २१ गते, बुधबार

मूर्ति चोरी गरेको आरोपमा दुई जना पक्राउ

२०७८ पुष २० गते, मंगलवार

कोरोनाको अर्को नयाँ भेरिएन्ट फ्रान्समा देखियो, निकै संक्रामक हुनसक्ने अनुमान

२०७८ पुष २० गते, मंगलवार

लक्षित वर्गका लागि सुरु गरिएको बुस्टर डोज अभियान स्थगित

२०७८ पुष २० गते, मंगलवार

2022 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal