अझै जीर्णोद्धार हुन सकेन नरसिंह मन्दिर

२०७८ श्रावण १२ गते, मंगलवार

ललितपुर – पाटन दरबार परिसरमा रहेको ज्वाला नरसिंह मन्दिर जीर्णोद्धारको काम अझै अघि बढ्न सकेको छैन। विभिन्न आकारका नयाँ इँटाको प्रयोग गर्नुपर्ने भएकाले काम रोकिएको बताइएको छ। 

जीर्णोद्धारका लागि ४७ देखि ४९ प्रकारका नयाँ इँटा राख्नुपर्ने मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले जानकारी दिए।

उनले भने, ‘विभिन्न प्रकारका नयाँ इँटा बनाउन नयाँ साँचो पनि बनाउनुपर्छ। आधा जति साँचो बनाउने काम सम्पन्न भई इँटा पनि बन्ने काम भएको छ। बाँकी आधा नयाँ साँचो बनाएर इँटा बन्ने काम भने कहिले सम्पन्न हुने हो भन्न सकिएको छैन।’ 
    
जीर्णोद्धारका लागि  आवश्यक इँटा केही महिनाअघि बनाउन दिएको थियो। समयसँगै इँटाको भाउ र कामदारको पनि ज्याला बढेकाले काम सुस्त गतिमा बढेको उनले गुनासो गरे।

मन्दिरको भुइँतला निर्माण गर्न ५ बाई ५ को एक लट इँटा मात्रै तयारी भएर आए पनि जीर्णोद्धारको काम अघि बढाउन थालिने काठमाडौं भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी)का देशीय निर्देशक डा रोहितकुमार रञ्जितकारले जानकारी दिए।

उनले भने, ‘बजारभाउको कारणले हो या के भएर हो आवश्यक इँटा बनाउन दिँदा पनि अझै तयारी भइसकेको छैन।’

मन्दिर वरिपरिका चार बुर्जा भत्किएकाले इँटा बनेर नआउँदासम्म कतै पनि नछुने निधो गरेको उनले जानकारी गराए। 

मन्दिरमा कूल १०८ थरीका इँटा प्रयोग भएको जनाइएको छ। नयाँ बनाउनुपर्नेको एक/एक नमूना झिकी गत माघमा बनाउन दिइसकेको इञ्जिनियर प्रणाम होराले जानकारी दिए।

उनले भने, ‘यी इँटा घरायसी प्रयोजनमा प्रयोग गर्नेभन्दा भिन्न र सानो हुने भएकाले बन्न केही समय लाग्ने भयो। मन्दिरको चार कुना भत्काउनुपर्ने र एउटा कुनामा तीन थरीको इँटा रहेकाले बाहिरपट्टि बिम लेभलको २५ प्रतिशत इँटा पुनः प्रयोग गर्न मिल्दैन।’ 

मन्दिरमा प्रयोग भएका इँटा कोहीमा सिंह, कोहीमा नाग, कुनैमा फूलको गुच्छा आदि विभिन्न प्रकारका आकृति रहँदा त्यस्तै बनाएर प्रयोग गरिने भएकाले ढिलो भइरहेको उनले जानकारी गराए। 

सो मन्दिर जीर्णोद्धारका लागि वरिपरि फलामको बार लगाउने काम सकियो। सङ्घलगायत सम्बन्धित निकायले पुरातत्व विभागसँग समन्वय गरी मुचुल्का बनाएर पुराना इँटा झिकी नयाँ बनाउन नमूना पठाएको थियो।

सो मन्दिर निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रूपैयाँ सहयोग गरिसकेको छ। 

वि.सं २०७२ को गोरखा भूकम्पमा परेको सो मन्दिरलाई बाहिरबाट सरसर्ती हेर्दा हालसम्म बीच भाग मात्र प्रबलीकरण गर्नुपर्ने देखिएको निर्देशक रञ्जितकारको भनाइ छ। 

ज्वाला नरसिंह मन्दिरलाई केभिपिटीको प्राविधिक सहयोगमा शिखरशैलीमा उपभोक्ता समितिमार्फत् निर्माण गर्ने भएकाले गत पुस २९ गते क्षमापूजा गरिएको थियो। 

सो नरसिंह मन्दिरको महिमा हरेक वर्ष कार्तिक शुक्लपक्ष त्रयोदशीका दिन पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा नृसिंह नृत्य मञ्चन गरी प्रदर्शन गर्ने गरिन्छ।

विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा १६९७ मा पाटनका राजा सिद्धिनसिंह मल्लले देश र जनताको कल्याणार्थ नृसिंहका साथै अन्य २६ नृत्यसमेत चलाएका थिए। 
 
ऐतिहासिक तथा सांस्कृतिक एवं तान्त्रिक मूल्यमान्यता बोकेको नृसिंह नाट्य महोत्सवमा कथामार्फत अत्याचारी दानव हिरण्यकश्यपुको बध गरी जनतालाई सत्कर्मको पालना गर्नुपर्ने सन्देश छर्ने गरिन्छ।

भगवान् विष्णुले मानव कल्याण र धर्म रक्षाका लागि मत्स्य, बराह र नृसिंह अवतार धारण गर्नुभएको कुरा विष्णुपुराणमा आधारित छ। रासस

113 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

इन्द्रध्वजपातनसँगै सकियो इन्द्रजात्रा,राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण

२०७८ आश्विन ९ गते, शनिबार

एक लाख डोज फाइजर खोप दीर्घ रोगीलाई दिइने

२०७८ आश्विन ९ गते, शनिबार

चीनमा क्रिप्टाेकरेन्सी अवैध

२०७८ आश्विन ९ गते, शनिबार

सुदूरपहाडमा भूकम्पको धक्का

२०७८ आश्विन ९ गते, शनिबार

आज इन्द्रजात्राको अन्तिम दिन

२०७८ आश्विन ८ गते, शुक्रबार

कांग्रेस नेता डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त

२०७८ आश्विन ६ गते, बुधबार

कुलमान घिसिङको नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

२०७८ आश्विन ५ गते, मंगलवार

आजदेखि सोह्रश्राद्ध सुरू

२०७८ आश्विन ५ गते, मंगलवार

सुदूरपश्चिममा भूकम्प

२०७८ आश्विन ४ गते, सोमबार

जर्मन प्रहरीद्वारा ३० नेपाली पक्राउ

२०७८ आश्विन ४ गते, सोमबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal