सेतो मच्छेन्द्रनाथको रथ निर्माण सुरु

२०७७ चैत्र ३१ गते, मंगलवार

काठमाडौँ – कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सेतो मच्छेन्द्रनाथको रथयात्रा गर्ने गरी रथ निर्माण सुरु गरिएको छ ।

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।

जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको छ । कोरोना नसर्ने गरी सतर्कता अपनाएर रथयात्रा गर्ने गरी विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।

विभिन्न उपसमिति गठन गरेपछि दूरी कायम गरी जात्रा सम्पन्न गर्न सकिने जनाइएको छ । वैशाख २ गते काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पूजारी, रथयात्रा मार्गमा पर्ने सङ्घ संस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधि राखेर सेतो मच्छेन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले छलफल कार्यक्रम आयोजना गर्न लागेको संयोजक नीलकाजी शाक्यले जानकारी दिए ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठाशालाबाट रथयात्रा सुरु हुन्छ । शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।

स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाउने गरी तयारी गरिएको समितिका सचिव सुजीव बज्राचार्यले बताए । बाजा पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षित रुपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरिएको छ ।

एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको छ । यसका लागि तीन रङको ज्याकेटको व्यवस्था गरिएको छ । जसले कोरोना सर्नबाट बच्न सकिने आशा गरिएको छ । कोरोना महामारीबाट बच्दै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको हो ।

तीनधारा पाठशालाअघिको मूल सडकमा चैत्र शुक्ल प्रतिपदा अर्थात् आजदेखि रथ निर्माण सुरु हुने जनाइएको छ । रथ निर्माणका लागि काठलगायत व्यवस्था भइसकेको गुठी संस्थान काठमाडौँका प्रमुख हरिप्रसाद सुवेदीले बताए ।

अष्टमीका दिन बिहान सेतो मच्छेन्द्रनाथको खट मच्छेन्द्रबहालबाट तीनधारा पाठशाला लगिन्छ । कुमारीलाई पनि त्यहाँ लगेर रथयात्रा सुरु गर्ने परम्परा छ । रथयात्रा पहिलो दिन असनमा लगेर राखिन्छ ।

राति असनमा राष्ट्रपतिले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ । यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई निमन्त्रणा गरिसकिएको समितिले जनाएको छ ।

यस वर्ष वैशाख ७ गतेदेखि रथयात्रा सुरु हुने समितिको संयोजकसमेत रहनुभएका काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष शाक्यले बताए । गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो ।

रथयात्रा रोकिएकामा हालै आर्यावलोकितेश्वर करुणामय भनेर पूजिने सेतो मच्छेन्द्रनाथको क्षमा पूजासमेत गरिएको उनले बताए । सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न सकिने गरी सम्पन्न गरेर उपत्यकाका अन्य जात्रा एवं मेलालाई पनि सहज रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर गर्न सकिन्छ भन्ने देखाउन खोजिएको छ । यसका लागि सरोकार भएका सबै निकायलाई समन्वय गरेर काम गरिएको समिति सचिव बज्राचार्यले सुनाए ।

रथयात्रा चलाउने मार्गमा एक घण्टा अघि नै माइकिङ गरेर सुरक्षित रुपमा जात्रा हेर्न आम मानिसलाई आह्वान गर्ने तयारी समितिको छ । जात्रामा सहभागी हुनुअघि भइसकेपछि पनि साबुन पानीले हात धुन पनि समितिले अनुरोध गरेको छ ।

तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाउन सुरु गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ । 

42 Views
प्रतिक्रिया दिनुहोस्

ताजा

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

२०७८ जेष्ठ ३१ गते, सोमबार

फिनल्याण्डको नगरपालिका चुनावमा नेपाली ब्योमा ताम्राकार निर्वाचित

२०७८ जेष्ठ ३१ गते, सोमबार

‘विश्वकाे सबैभन्दा ठूलो परिवार’ का घरमुलीकाे निधन

२०७८ जेष्ठ ३१ गते, सोमबार

काठमाण्डौ उपत्यकामा २ देखि १२ दिन विराएर पानी वितरण हुने

२०७८ जेष्ठ ३१ गते, सोमबार

एक हप्ता थपियो निषेधाज्ञा, यी क्षेत्रमा खुकुलो

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौंमा स्कुटर बिजुलीको पोलमा ठोक्किएर एक जनाको मृत्यु

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि शुरू

२०७८ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ पछि पनि थप्न तयारी

२०७८ जेष्ठ २८ गते, शुक्रबार

असुरो के हो ,कस्ता रोगका लागि उपयुक्त हुन्छ?

२०७८ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौंमा खोप कार्यक्रम स्थगित

२०७८ जेष्ठ २७ गते, बिहीबार

2021 Copyrights Reserved at newzpati.com

Designed & Developed By Web House Nepal